इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ


काठमाडौं-  ज्यानसम्बन्धी (कर्तव्य ज्यान) मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भई फरार रहेका पर्वतका रेशमबहादुर राना पक्राउ परेका छन्। एनसिबी अबुधाबी, युएईको समन्वयमा पक्राउ परेका उनलाई शुक्रबार नेपाल ल्याइएकाे हो।

रेशमबहादुर रानासहितको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत पर्वतले २०६९ माघ १५ गते जन्मकैद (२० वर्ष) सजाय सुनाएको थियो। घटना पछि राना फरार रहेकाले नेपाल प्रहरीले अन्तर्राष्ट्रिय तहमा खोजतलास र पक्राउ प्रक्रिया अघि बढाएको थियो।

नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग अन्तर्गतको इन्टरपोल शाखाको अनुरोधमा २०८१ जेठ १९ गते इन्टरपोल महासचिवालयले रानाविरुद्ध रेड नोटिस जारी गरेको थियो।

अभियुक्त रानालाई सम्बन्धित कसुरअनुसार आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको टोलीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ।

प्रतिक्रिया