
भदौ २३ गते गोली चलाउन कसैले आदेश दिएको होइन, परिस्थिति बाध्यकारी थियो: आईजीपी खापुङ
काठमाडाैं- नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको घटनाका क्रममा प्रहरीलाई गोली चलाउन कुनै व्यक्तिबाट आदेश आएको नभई त्यो तत्कालीन परिस्थितिको परिणाम भएको बताएका छन्।
एक टेलिभिजन कार्यक्रममा बिहीबार दिइएको अन्तर्वार्तामा उनले घटनाक्रम अत्यन्तै जटिल र नियन्त्रण बाहिर गएपछि मात्रै गोली चलाउनुपर्ने अवस्था सिर्जना भएको बताएका हुन्।
गत भदौ २३ मा ‘जेन–जी’को नाममा आयोजना गरिएको प्रदर्शनका क्रममा काठमाडौंमा १७ र सुनसरीको इटहरीमा २ गरी १९ जनाको मृत्यु भएको थियो। त्यसपछि भदौ २४ मा भड्किएको हिंसा, लुटपाट र आगजनीमा थप ५७ जनाले ज्यान गुमाए। तीमध्ये २३ जनाको मृत्यु आन्दोलनकारी, १० जना कैदी र तीन जना प्रहरी भएको बताइए पनि बाँकी ४१ जनाको मृत्यु कसरी भयो भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
दुई दिनको यो हिंसात्मक घटनाको दोष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि लगाइँदै आएको छ। तर आईजीपी खापुङले परिस्थितिले प्रहरीलाई बल प्रयोग गर्न बाध्य बनाएको दाबी गरेका छन्।
यस प्रकरणमा प्रहरी नेतृत्वमाथि आलोचना भइरहेकै बेला खापुङले संसद् भवनजस्ता महत्वपूर्ण संरचना सुरक्षित राख्न कानुनअनुसार प्रहरीलाई बल प्रयोग गर्नुपरेको तर्क गरेका छन्। “मानिसको मृत्यु आफैँमा दुःखद् हो। त्यस घटनाले हामीलाई गहिरो पीडा दिएको छ। म व्यक्तिगत रूपमा क्षमाप्रार्थी छु,” उनले भने।
अन्तर्वार्तामा गोली चलाउन आदेश कसले दिए भन्ने प्रश्नमा उनले स्पष्ट रूपमा “त्यस्तो आदेश कसैले दिएको होइन,” भन्दै परिस्थितिले नै प्रहरीलाई अन्त्यमा बल प्रयोग गर्न बाध्य बनाएको बताए।
उनका अनुसार भदौ २३ मा संसद् भवनभित्र ‘घुसपैठिया’ प्रवेश गरी आगजनी र तोडफोड गर्न खोजेपछि कानुनी अधिकारअनुसार प्रहरीले गोली चलाउनुपरेको हो। “मानिसलाई लक्षित गरेर गोली हान्न आदेश दिइँदैन। त्यो तत्कालीन अवस्थाबाट सिर्जित निर्णय थियो,” उनले भने।
खापुङले प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले गोली चलाउन आदेश दिएको भन्ने आरोप अस्वीकार गरे। “त्यो त्यसरी हुने कुरा होइन। सबैले आफ्नो जिम्मेवारी ऐन र कानुनअनुसार पूरा गर्छन्। भदौ २३ र २४ मा भएको पनि त्यही हो,” उनले भने।
खापुङका अनुसार घटनाको सम्पूर्ण जिम्मेवारी लिन आफू तयार छन्। प्रहरीको कदम व्यक्तिगत स्वार्थ नभई कानुनी दायित्व पूरा गर्ने उद्देश्यले भएकोताको दाबी पनि उनले गरे। “राज्यका महत्वपूर्ण संरचना जोगाउन अन्त्यमा बल प्रयोग गरिएको हो। प्रहरी अझै संयमित नभएको भए हताहती धेरै ठूलो हुन सक्थ्यो,” उनले भने।
प्रहरीले उक्त घटनाको विस्तृत अनुसन्धानका लागि विशेष टोली गठन गरेको र पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय छानबिन आयोग पनि सक्रिय रहेको उनले जानकारी दिए।
जेन–जी आन्दोलनका क्रममा सुरक्षानिकायबीच राम्रो समन्वय रहेको उनले बताए। सेना र प्रहरीले तालमेल नगरेको भनाइ अस्वीकार गर्दै राज्यको सूचना संयन्त्र असफल नभए पनि पर्याप्त ध्यान भने नदिइएको स्वीकार गरे।
भदौ २४ मा ठूलो क्षति हुन सक्ने अवस्थाबाट नेपाली सेना र प्रहरीको संयमताले ज्यान बचाउन मद्दत पुगेको उनले उल्लेख गरे।
पूर्वप्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गर्नुपर्ने विषयमा भने उनले वर्तमान अन्तरिम सरकार कानुनी विषयमा अत्यन्तै सचेत रहेको बताउँदै अहिलेसम्म कसैलाई पक्राउ गर्न आदेश नदिइएको जानकारी दिए।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि नेपाल प्रहरी पूर्ण रूपमा तयार रहेको पनि उनले बताए।



कागजपत्र |
