
अंशु हत्या प्रकरण : न्याय नपाएसम्म दाहसंस्कार नगर्ने परिवारको अडान
मोरङ- लेटाङ नगरपालिका–२, बुधबारेकी १३ वर्षीया अंशु गौतमको वीभत्स हत्या भएको झन्डै एक महिना बित्दा पनि परिवारले शव बुझ्न मानेका छैनन्।
अंशुको परिवारले हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गरी सार्वजनिक नगरेसम्म दाहसंस्कार नगर्ने अडान लिएको छ। उनका बुवा दामोदर गौतमका अनुसार, न्याय नपाएसम्म छोरीको शव नबुझ्ने परिवारको निर्णय स्थिर छ।
गत असोज २१ गते घरबाट ‘खेल्न जान्छु’ भन्दै निस्किएकी अंशु १८ दिनपछि कात्तिक ७ गते घरबाट करिब ४.५ किलोमिटर टाढा जंगलमा क्षतविक्षत अवस्थामा फेला परिन्। हाल उनको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ।
मोरङ प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गरिरहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटुवालका अनुसार, घटनास्थलबाट संकलन गरिएका सबुतहरू फरेन्सिक परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
उनले अनुसन्धान अहिले साँघुरिदै गएको र छिट्टै अपराधमा संलग्न व्यक्तिहरूलाई कानूनी दायरामा ल्याइने विश्वास व्यक्त गरेका छन्।



कागजपत्र |
