शेरबहादुर शैलीमा गगनको दिशा— हस्ताक्षर अभियानदेखि भेलासम्म


नेपाली कांग्रेसमा फेरि एकपटक आन्तरिक असन्तोष र एक किसिमको भ्रमको लहर देखिन थालेको छ। पार्टीका महामन्त्री गगन थापाले पछिल्ला समयमा सञ्चालन गरेका भेटघाट, नेतासँगको व्यक्तिगत संवाद र शक्ति–सम्पर्क प्रयासले कांग्रेसभित्र नयाँ राजनीतिक गतिशीलता जन्माएको छ। तर यस गतिशीलतामा सकारात्मक सुधारको संकेत भन्दा पनि २०५९ सालको शेरबहादुर देउवाको हस्ताक्षर अभियानको सम्झना दिलाउने शैली देखिएको छ।

२०५९ सालको ऐतिहासिक सन्दर्भ याद गर्दा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरी निर्वाचन घोषणा गरेका थिए। त्यस क्रममा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालासँग मतभेद चुलिएको थियो। मतभेदको परिणामस्वरूप देउवाले पार्टीभित्र हस्ताक्षर अभियान चलाउँदै आफ्ना समर्थक सांसद र केन्द्रीय सदस्यहरूलाई जम्मा गरेर “नेपाली कांग्रेस (प्रजातान्त्रिक)” नामक नयाँ पार्टी दर्ता गरेका थिए। त्यो फुटले पार्टीभित्र मात्र होइन, देशको राजनीतिक स्थायित्वमा पनि गहिरो प्रभाव पारेको थियो।

आजका दिन कांग्रेसभित्र देखिएको गतिशीलता र त्यो ऐतिहासिक घटनासँग आश्चर्यजनक समानता बोकेको अनुमान लगाउन सकिन्छ । थापाको पहलमा गरिएका हस्ताक्षर अभियान देखी १८ गते बिषेश महाधिबेशनको नाममा बोलाईएको भेलाले पार्टीलाई एकीकृतभन्दा पनि भिन्न–भिन्न धारमा लैजानेतिर संकेत गर्दैछ।

गगन थापाको शैली, विश्लेषकहरूको अनुसार, असन्तुष्टि उजागर गर्ने तरिकामा शहरी र युवापुस्तालाई आकर्षित गर्ने किसिमको छ। उनी आफ्नो समूहलाई सक्रिय राख्दै पार्टी नेतृत्वप्रति दबाब सिर्जना गर्दै आएका छन्। पार्टीभित्र महाधिवेशन मिति तय, नेतृत्व चयन र नीति सुधारजस्ता संवेदनशील विषयमा थापाको समूहले देखाएको दबाब र असहयोगी व्यवहारले धेरैलाई २०५९ सालको घटना पुनरावृत्ति हुने खतरा बडेको देखिन्छ ।

त्यसैगरी, पार्टीको अन्य वरिष्ठ नेताहरू, विशेष गरी शेखर कोइराला, कृष्ण सिटौला, विमलेन्द्र निधी, प्रकाशमान सिंहलगायतका नेताहरू भने नियमित महाधिवेशन र लोकतान्त्रिक प्रक्रियाका पक्षधर देखिन्छन्। उनीहरूको अडान स्पष्ट छ — पार्टी एकता र लोकतान्त्रिक प्रक्रिया कायम राख्ने, जसअनुसार आलोचना र बहस हुन सक्ने, तर संगठन फुट्ने दिशामा जान नदिने। शेखर कोइरालाको नियमित महाधिवेशनको अडानले कांग्रेसभित्र ‘सुधार’ र ‘विकास’ दुवैको महत्वलाई जोड दिन खोजेको देखिन्छ ।

गगन थापाको शैली र रणनीति, विश्लेषकहरूको दृष्टिमा, असन्तुष्ट वर्गलाई एकठाउँमा ल्याउने तर पार्टीको संरचनात्मक एकतालाई चुनौती दिने खालको छ। थापाको समूहले नेतृत्व र नीति निर्णयमा आफ्नो दबाब देखाउँदै आएको छ। यसले पार्टीभित्रको विद्यमान असन्तोषलाई अझ प्रकट बनाएको छ र शक्ति–सन्तुलनको सन्दर्भमा गहिरो प्रभाव पार्ने सम्भावना राख्छ।

पार्टीभित्रको असन्तोष केवल नेताको स्तरमा मात्र सीमित छैन। ग्रासरुट कार्यकर्ता र स्थानीय तहका प्रतिनिधिहरू पनि गगन थापाको सक्रियता र शक्ति–संपर्क प्रयासबाट असहज महसुस गरिरहेका छन्। यसले आगामी महाधिवेशन र नेतृत्व चयन प्रक्रियामा व्यापक प्रभाव पार्न सक्छ। यदि थापाको समूह र शेखर–देउवा पक्षबीच सहमति र संवाद स्थापित हुन सकेन भने पार्टीभित्र मतभेद झनै बढ्ने सम्भावना देखिन्छ ।

निष्कर्षमा भन्नुपर्दा, हिजो शेरबहादुर देउवाले असन्तुष्टि र सुधारको नाममा पार्टी फुटाए, आज गगन थापाले सोही बाटो हिँड्ने संकेत दिएको विश्लेषकहरुको बुझाई छ । कांग्रेसभित्रको वर्तमान परिस्थितिले स्पष्ट पार्दछ कि सुधार र नेतृत्व परिवर्तनको आवश्यकता छ भने त्यसलाई पारदर्शी, समावेशी र संस्थागत ढाँचामा गर्नुपर्छ । व्यक्तित्व र गुटगत दबाबका माध्यमबाट होइन। गगन थापाको सक्रियता र शेखर कोइरालाको अडान बीचको द्वन्द्वले आगामी महाधिवेशन र पार्टीको भविष्य निर्धारण गर्नेछ। पार्टी एकता र लोकतान्त्रिक प्रक्रिया कायम राख्ने जिम्मेवारी सबै नेता र कार्यकर्तामाथि निर्भर छ। यदि यसले ठोस संवाद र सहमतिमार्फत समाधान पाएन भने, २०५९ सालको घटना फेरि दोहोरिन सक्ने चेतावनी स्पष्ट छ।

कांग्रेसभित्र सुधार, नवप्रवर्तन र नेतृत्व परिपक्वताको आवश्यकता छ। तर त्यो सुधार पार्टी फुट्ने दिशा होइन, बल्कि संगठनलाई बलियो बनाउने मार्गमा हुनु पर्छ। वर्तमान परिदृश्यमा, गगन थापाको आक्रामक शैली र शेखर कोइरालाको नियमित महाधिवेशनको अडान तथा संस्थापनपक्षकोे चुनावको बाहानामा अधिबेशन टार्ने राजनीतिक खेलको केन्द्रबिन्दु बनेको छ । यसको परिणामले पार्टीको भविष्य र राष्ट्रिय राजनीतिक स्थायित्व दुवैमा गहिरो प्रभाव पार्नेछ।

 

 

प्रतिक्रिया