बैंकको खाताबाट आफै रकम हराएपछि…


दाङ-  तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका छवि भण्डारीको बैंक खाताबाट अचानक १८ हजार १० रुपैयाँ कटानी भएपछि उनी स्तब्ध बनेका छन्।

भाइटिकाको भोलिपल्ट, कात्तिक ७ गते दिउँसो ३ बजे तिर नेपाल इन्भेष्टमेन्ट मेघा बैंक (एनआईएमबी) को खाताबाट रकम काटिएको म्यासेज आएपछि उनी अचम्मित बने। “न मैले मोबाइल बैंकिङ प्रयोग गरेँ, न चेक काटेँ,” भण्डारीले भने, “तर अचानक पैसा कटेपछि डर लाग्यो।”

भण्डारीले तुरुन्तै बैंकमा सम्पर्क गर्न खोजे, तर फोन उठेन। त्यसपछि उनले बैंकको कस्टमर केयर सेन्टरमा फोन गरे। त्यहाँबाट “हाल केही भन्न मिल्दैन” भन्ने जवाफ पाएपछि उनी कात्तिक ९ गते सिधै बैंक पुगे।

बैंकमा पुगेपछि थाहा भयो, उनको खाताबाट रकम प्रभु बैंकमा रहेको दोलखाका उत्सव फुयाल नामका व्यक्तिको खातामा ट्रान्सफर भएको रहेछ। फुयालसँग भण्डारीको कुनै सम्पर्क वा सम्बन्ध थिएन। सो व्यक्तिले उक्त रकम एटिएममार्फत झिकिसकेको बैंकले जनाएको छ।

घटनापछि भण्डारीले इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिए। प्रहरीको चिठीपछि प्रभु बैंकले फुयालको खाता रोक्का गरेको छ, तर भण्डारीको रकम भने अझै फिर्ता आएको छैन।

भण्डारीलाई अपांगता भएका व्यक्तिका लागि दिइने सामाजिक सुरक्षा भत्ता सोही खातामार्फत आउने गर्छ।उपमहानगरपालिकाले विभिन्न बैंकमार्फत लाभग्राहीका खातामा भत्ता पठाउने व्यवस्था गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका तुलसीपुर शाखा प्रमुख शरद अधिकारीका अनुसार, ओटीपी कोडको दुरुपयोग वा मोबाइलमा अनधिकृत लिंक खोल्दा यस किसिमका घटनाहरू बढिरहेका छन्। “हालै अन्य केही ग्राहकले पनि रकम हराएको गुनासो गरेका छन्,” उनले भने।

प्रतिक्रिया