मकवानपुरमा पेट्रोल ट्याङ्करबाट चोरी, चालकसहित चारजना नियन्त्रणमा


मकवानपुर-  नेपाल आयल निगम थानकोट डिपोका नाममा पठाइएको पेट्रोलियम पदार्थ चोरी गरी बिक्री गरेको आरोपमा मकवानपुर प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा डिएसपी पुष्कर बोगटीका अनुसार, आइतबार साँझ करिब साढे चार बजे नेपाल आयल निगम अमलेखगन्ज डिपोबाट थानकोट डिपोतर्फ जाँदै गरेको ना.४.ख ९३७७ नम्बरको ट्याङ्कर मकवानपुरको मनहरी गाउँपालिका–८ स्थित जय शिव शरणम् फ्यूल सेन्टर प्रालीमा रोकिएर अवैध रूपमा पेट्रोल झिक्दै गरेको अवस्थामा पक्राउ गरिएको हो।

प्रहरी टोली घटनास्थलमा पुगेपछि ट्याङ्करबाट पेट्रोल निकाल्ने कार्य भइरहेको देखिएपछि चालकसहित पेट्रोल पम्पमा कार्यरत तीन जनालाई नियन्त्रणमा लिएको डिएसपी बोगटीले जानकारी दिए।

उनका अनुसार, उक्त ट्याङ्कर नेपाल आयल निगमको थानकोट डिपोका लागि पेट्रोल लिएर हिँडेको भए पनि बीचमै रोकिएर अनधिकृत रूपमा पेट्रोल बिक्री गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ परेकाहरूको नाम हाल सार्वजनिक नगरिएको बताएको छ।

प्रतिक्रिया