
छोराले गरे बुवाको हत्या, आमा सख्त घाइते
गुल्मी – गुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् ।
२३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको प्रहरीले जनाएको छ ।
बिकले करिब ५० वर्षीय बुवा धनबहादुर बिक र आमा ४८ वर्षीया दिलमाया बिकलाई हँसिया र काठको मुंग्रोले प्रहार गरेका थिए । धनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।
दिलमायालाई गम्भीर चोट लागेकाले उपचारका लागि जिल्ला अस्पताल तम्घास हुँदै प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानका क्रममा बिकको मानसिक सन्तुलन ठीक नभएको खुलेको छ ।
मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।



कागजपत्र |
