क्यानडामा कपिल शर्माको क्याफेमाथि फेरि गोलीबारी


काठमाडाैं- क्यानडाको सरेस्थित भारतीय हास्य कलाकार कपिल शर्माको क्याप्स क्याफे फेरि गोलीबारीको घटनामा परेकाे छ। बुधबार राति अज्ञात समूहले क्याफेमा अन्धाधुन्ध गोली चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटना सार्वजनिक भएको हो।

यो चार महिनाभित्र क्याफेमाथि भएको तेस्रो आक्रमण हो। यस पटकको गोलीकाण्डपछि गोल्डी ढिल्लन र कुलदीप सिद्धूले सामाजिक सञ्जालमार्फत जिम्मेवारी लिँदै आफूहरू ग्याङ्स्टर लरेन्स बिश्नोईका सहयोगी भएको दाबी गरेका छन्।

तिनीहरूले लेखेका छन्, “हामी क्याप्स क्याफेमाथि भएका तीनैवटा गोलीकाण्डको जिम्मेवारी लिन्छौं। हाम्रो जनतासँग कुनै दुश्मनी छैन, तर जससँग विवाद छ उनीहरू टाढा रहून्। गैरकानूनी काम गर्नेहरू तयार रहनुपर्छ।” साथै, उनीहरूले बलिउडमा धर्मविरोधी अभिव्यक्ति दिनेहरूलाई पनि चेतावनी दिएका छन्।

यसअघि पनि उक्त क्याफे दुई पटक आक्रमणमा परेको थियो। पहिलो आक्रमण २०२५ जुलाई १० मा भएको थियो, जसको जिम्मेवारी हरजीत सिंह लड्डीले लिएका थिए। उनले कपिल शर्माले आफ्नो कार्यक्रममा सिख समुदायको भावनामा चोट पुर्‍याएको दाबी गरेका थिए। दोस्रो आक्रमण २०२५ अगस्ट ७ मा भएको थियो, जसको जिम्मेवारी यस पटक पनि देखा परेका गोल्डी ढिल्लनले लिएका थिए।

क्यानडामा भारतीय मूलका सेलेब्रिटीहरूमाथि पछिल्ला महिनाहरूमा भइरहेको यस्ता आक्रमणले त्यहाँको सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ।

प्रतिक्रिया