
बैंककबाट गाँजा लिएर आएका तीन भारतीय काठमाडौं विमानस्थलमा पक्राउ
काठमाडौं – थाइल्यान्डको बैंककबाट ११ किलोभन्दा बढी गाँजा लिएर आएका तीन भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा भारतका ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया जैनब बशिर रहेका छन् । उनीहरूबाट ११ किलो २७५ ग्राम गाँजा बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
तीनै जना एयर एसियाको उडानमार्फत बैंककबाट काठमाडौं आएका थिए । विमानस्थलमा नियमित जाँचका क्रममा भन्सार र विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई शंका लागेपछि तलासी लिँदा गाँजा फेला परेको हो ।
पक्राउ परेका व्यक्तिहरूलाई प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
