
सगरमाथा क्षेत्रमा ट्रेकिङमा गएकी मलेसियन महिला सम्पर्कविहीन
सोलुखुम्बु — सगरमाथा क्षेत्रको ट्रेकिङका क्रममा एक मलेसियन महिला सम्पर्कविहीन भएकी छन् । शनिबारदेखि सम्पर्क नहुँदा ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान)ले उनको खोजीका लागि पहल थालेको छ ।
टानका अनुसार सम्पर्कविहीन भएकी महिला जियन लि यु हुन् । उनले ट्रेकिङ सकेर शुक्रबार फर्किने योजना बनाएकी थिइन्, तर तय समयमा फर्किन नसकेपछि उनी सम्पर्कविहीन बनेकी हुन् ।
उनकी साथी एडम खानले इमेलमार्फत टानलाई यसबारे जानकारी दिँदै खोजीका लागि सहयोग मागेकी थिइन् । त्यसपछि टानले सुरक्षा निकायसँग महिला पर्यटकको खोजीका लागि आग्रह गरेको जनाएको छ ।
साथै, टानले सो क्षेत्रमा रहेका अन्य पर्यटक, पर्यटन व्यवसायी र स्थानीय बासिन्दालाई पनि खोजीमा सहयोग गर्न अपिल गरेको छ ।
सन्देश वा जानकारीका लागि टानले इमेल info@taan.org.np वा ह्वाट्सएप नम्बर ९८४३६८७५४८ मा सम्पर्क गर्न आग्रह गरेको छ ।



कागजपत्र |
