
त्रिभुवन विमानस्थलमा भारतीय नागरिक पक्राउ, मलद्वारमा लुकाइएको ८३५ ग्राम सुन बरामद
काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले मंगलबार दिउँसो ४८ वर्षीय रोनक मदनीलाई भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
मुम्बईबाट इन्डिगो एयरमार्फत काठमाडौं आएका मदनीमाथि शंका लागेपछि भन्सार प्रहरीले प्रारम्भिक जाँच गरेको थियो। त्यसपछि उनलाई थप परीक्षणका लागि केएमसी अस्पताल लगियो। भिडियो एक्सरे गर्दा मलद्वारमा लुकाइएका तीनवटा डल्लामा ८३५ ग्राम सुन फेला परेको छ।
प्रहरीले बरामद सुनसहित मदनीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाउने तयारी गरेको छ।



कागजपत्र |
