
विशेष महाधिवेशनको भ्रम नछर्न सुदूरपश्चिम कांग्रेसको चेतावनी
काठमाडौं — नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशले विशेष महाधिवेशनको नाममा हस्ताक्षर संकलन गरेर नेता तथा कार्यकर्तालाई भ्रममा नपार्न चेतावनी दिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले आउँदाे महाधिवेशनमा सभापतिको उम्मेदवार नलड्ने र नेतृत्व हस्तान्तरण गर्न तयार भइसकेको अवस्थामा यस प्रकारका गतिविधिले पार्टी एकता कमजोर पार्ने सुदूरपश्चिम प्रदेशको बुझाइ छ।
सुदूरपश्चिम प्रदेशका कांग्रेस नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, “पार्टीभित्र अल्पमत, बहुमत, विशेष महाधिवेशन र हस्ताक्षर संकलनजस्ता विषय उठान गरी कार्यकर्तामा भ्रम सिर्जना गर्ने, पार्टीलाई विभाजनतिर लैजाने र एकता कायम हुन नदिने गतिविधिले पार्टी कमजोर मात्र होइन, लोकतन्त्र नै समाप्त हुने खतरा छ।”
नेताहरूले सभापति देउवा उपचारमा रहँदा पदाधिकारीहरूले सुझबुझका साथ पार्टी एकता कायम गरी निर्णय लिनुपर्ने बताएका छन्। “अहिलेको विषम र अस्थिर परिस्थितिबाट उठ्न, पुनःनिर्माणमा जुट्न र जनतामा शान्ति तथा सद्भाव कायम गर्न आवश्यक छ। नेपाली कांग्रेसलाई जनतासँग निरन्तर जोड्न र पार्टीभित्रको आन्तरिक एकता मजबुत गर्दै मुलुकलाई निकास दिनुपर्छ,” विज्ञप्तिमा उल्लेख छ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, कार्यवाहक सभापति लोकराज अवस्थी, केन्द्रीय सदस्य सुशीला मिश्र, नृप वड, राष्ट्रिय सभा सदस्य नारायण दत्त मिश्र, कैलाली सभापति नारायण दत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटीसहित २३ नेताले विशेष महाधिवेशनविरुद्ध उभिएर चेतावनी दिएका हुन्।
नेताहरूले प्रतिनिधिसभा पुनःस्थापना, जेनजी आन्दोलनका प्रतिनिधित्व सुनिश्चित गर्ने र त्यही प्रतिनिधिसभाबाट संविधान संशोधन गर्नुपर्ने पनि जोड दिएका छन्।



कागजपत्र |
