खोटाङमा युवती मृत फेला, बलात्कारपछि हत्या भएको आशंका


खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २६ वर्षीया रेस्मिका परियार मंगलबार राति मृत फेला परेकी छन्। अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत परियार कार्यालय पञ्चमीबजारबाट घर फर्कने क्रममा जंगलमा निर्घात हत्या भएको हुन सक्ने आशंका गरिएको छ।

कार्यवाहक वडाध्यक्ष सुवास प्रधानका अनुसार बेलुकी अबेरसम्म घर नफर्किएपछि परिवारले खोजतलास सुरु गरेको थियो। बाटोमा चप्पल भेटिएपछि तलतिर खोज्दा जंगलमै मडारिएको ठाउँ देखिएको र करिब सय मिटर तल घोप्टो परेको अवस्थामा परियार राति ८ बजेतिर फेला परेकी हुन्।

उनको भित्री कपडा मडारिएको ठाउँमा भेटिएको र बाहिरी कपडा भने लगाइएको अवस्थामा शव फेला परेको प्रधानले बताए। यसै आधारमा बलात्कारपछि हत्या गरिएको हुन सक्ने देखिएको हो।

घटनापछि प्रहरी तत्कालै घटनास्थलमा पुगेको भए पनि माइतीपक्ष नआएसम्म शव उठाउन नसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी प्रकाश बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया