
नक्कली भारतीय रुपैयाँसहित ५ जना पक्राउ
कञ्चनपुरमा- कञ्चनपुरमा प्रहरीले पाँच सय दरका नक्कली भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ।
शुक्रबार राति युपी १४ बीएच २०७३ नम्बरको भारतीय गाडीमा नक्कली नोट बोकेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले पाँच सय भारतीय रुपैयाँका १४७ नोटसहित पाँच जनालाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा दुई नेपाली र तीन जना भारतीय रहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) सागर बोहराले नक्कली भारतीय नोटसहित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साह बस्ने ३२ वर्षीय सौगात बहादुर सिंह, २४ वर्षीय चन्द्र बोहरा, भारतको बरेली तेसिलमिगञ्ज ग्राम बस्ने २५ वर्षीय कुलदिप चतुर्बेदी, बरेली फटितेगञ्ज बस्ने २० वर्षीय अमित यादव र भारत बरेली उदमासिहंनगर उत्तराखण्ड बस्ने २४ वर्षीय हिंमासु शर्मालाई पक्राउ गरिएको बताए।
उनकाअनुसार गाडीमा नक्कली नोट भएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झलारीको टोलीले उनीहरुलाई पछ्याएको थियो। सो क्रममा शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित नेपाली सेना श्री रणसिंह सुरक्षा गण पोस्टले गाडी रोकी चेकजाँच गर्दा नक्कली नोटसहित गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
गाडीमा सवार पाँचै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको डीएसपी बोहराले बताए।



कागजपत्र |
