
टिकटकमा ‘एक्स्पोज नेपो किड’ ट्रेन्ड
काठमाडौं- पछिल्लो समय सामाजिक सञ्जाल टिकटकमा ‘एक्स्पोज नेपो किड’ ट्रेन्ड तीव्र रूपमा फैलिएको छ । नेपालमा मौलाएको भ्रष्टाचार, नातावाद र असमानताविरुद्ध युवापुस्ताले सञ्चालन गरेको यो अभियानले ठूलो चर्चा पाएको हो ।
‘नेपो किड’ वा ‘नेपो बेबी’ शब्द ‘नेपोटिजम्’ अर्थात् नातावादबाट आएको हो । मनोरञ्जन क्षेत्रमा देखिएको यो शब्द अहिले नेपालमा राजनीतिज्ञ तथा प्रभावशाली व्यक्तिहरूका सन्तानलाई लक्षित गर्दै प्रयोग भइरहेको छ । युवाहरूले टिकटकमार्फत नेताका छोराछोरीहरूको महँगो जीवनशैली, विदेश अध्ययन, महँगा गाडी र विशेष सुविधा देखाउँदै प्रश्न उठाएका छन्। ‘यी सबै उनीहरूको दक्षता र मेहनतको परिणाम हो, वा करदाताको पैसामाथि पालिएको विलासी जीवन ?’ भनेर प्रश्न गरिएको छ ।
#PoliticiansNepoBabyNepal ह्यासट्यागमार्फत बनाइएका भिडियोहरूमा युवाहरूको आक्रोश देखिन्छ । कसैले राजदूतका सन्तानले पाएको विशेष सुविधा उजागर गरेका छन् भने कसैले मन्त्री, सांसददेखि प्रधानमन्त्रीका सन्तानसम्मको विलासी जीवनशैली सार्वजनिक गरेका छन् । सामान्य नेपाली युवा रोजगारीकै लागि विदेशिन बाध्य हुँदा राजनीतिक परिवारका सन्तानले विशेषाधिकार उपभोग गरेको दृश्यले असमानता र अन्यायप्रतिको असन्तुष्टि झन् चर्किएको हो ।
यो ट्रेन्ड केवल भर्चुअल दुनियाँमै सीमित नरहने देखिएको छ । रेडिटमा गरिएको छलफलअनुसार ‘नेपो किड’ उजागर गर्ने अभियान सडक आन्दोलनसम्म लैजाने तयारी पनि भइरहेको छ । युवाहरूले सामाजिक सञ्जाल बन्द गरेर आलोचना दबाउने प्रयास भए प्रत्यक्ष आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।



कागजपत्र |
