
सकेको राम्रो गर्छु, तर नराम्रो गर्ने छैनः आईजीपी खापुङ
काठमाडौं– नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ(आईजीपी)ले आज सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहमा दर्ज्यानी चिन्ह लगाएका छन्। समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले खापुङलाई यो सम्मान प्रदान गरेका हुन्।
गृहसचिव दुवाडीले सरकारले क्षमता, कार्यदक्षता र जेष्ठतालाई ध्यानमा राखेर प्रहरीको सर्वोच्च पदमा खापुङलाई नियुक्त गरेको बताए। उनले भने, “मुलुकमा शान्ति, सुव्यवस्था र सुशासन कायम गर्न, अपराध नियन्त्रण गर्न र सामाजिक न्याय स्थापना गर्न प्रहरीको भूमिका अत्यन्तै महत्वपूर्ण छ। आम नागरिकलाई सुरक्षा महसुस गराउनु हाम्रो कर्तव्य हो।”
त्यस्तै नवनियुक्त महानिरीक्षक खापुङले भने, “सकेको राम्रो गर्छु, तर नराम्रो गर्ने छैन। सबै दर्जाका प्रहरी कर्मचारीको हित र संस्थागत सुधारलाई प्राथमिकता दिन्छु।” उनले अपराध अनुसन्धानमा आधुनिक प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), साइबर र क्रिप्टोसम्बन्धी अपराध नियन्त्रणमा प्रहरी क्षमताको विकास आवश्यक रहेको बताए।



कागजपत्र |
