आर्यघाट काण्डः शवबाट हड्डी निकालेर किनबेच गर्ने ४ जना धरौटीमा रिहा


काठमाडौं– पशुपति आर्यघाटमा जलाइरहेको शवको हड्डी निकालेर किनबेच गरेको आरोपमा चार जनाविरुद्ध काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ।

मुलुकी फौजदारी अपराध संहिताअनुसार धर्मसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएका व्यक्तिहरूमा सर्लाही लालबन्दी नगरपालिका–२ का ४२ वर्षीय रामनन्दन ठाकुर, काभ्रे मण्डनदेउपुरका ६१ वर्षीय गणेशप्रसाद भनिने जीवनाथ ढकाल, उदयपुर कटारी नगरपालिका–८ का २४ वर्षीय विनायक मैनाली र सप्तरी वलानबिहुल गाउँपालिका–६ का ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्।

प्रहरी वृत्त गौशालाले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। त्यसै दिन न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासले धरौटीमा उनीहरूलाई रिहा गरेको हो। सबैजनाले जनही १० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।

राम शाहीको मृत्यु भएपछि उनको शव पशुपति आर्यघाटमा सद्गदका लागि लगिएको थियो। सद्गद प्रक्रिया चलिरहेको बेला आर्यघाट सेवा केन्द्रतर्फबाट खटिएका जीवनाथ ढकाल र उनका सहयोगी विनायक मैनालीले आधा जलिरहेको अवस्थामा शवको टाउकाको हड्डी निकालेका थिए। निकालिएको हड्डी पछि बिक्री गरिएको अनुसन्धानमा खुलेको हो।

 

प्रतिक्रिया