एमाले नेता ऐन महर हाजिरी जमानीमा रिहा


काठमाडाैं- नेकपा (एमाले) का केन्द्रीय सदस्य ऐन महर गालीबेइज्जती र चरित्रहत्या मुद्दामा पक्राउ परे पनि हाजिरी जमानीमा छुटेका छन्।

विद्युतीय अपराधसम्बन्धी उजुरीका आधारमा साइबर ब्युरोले उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तर जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले हाजिरी जमानीमै अनुसन्धान गर्न निर्देशन दिएपछि महरलाई रिहा गरिएको हो।

ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीका अनुसार, महरसँगै उनकी श्रीमती सनुजा श्रेष्ठ पनि हाजिरी जमानीमै छुटेकी छन्। उनीविरुद्ध पनि छुट्टै उजुरी परेको थियो। यसअघि महरविरुद्ध जाहेरी दिने महिलालाई पनि सरकारी वकिल कार्यालयले हाजिरी जमानीमै रिहा गरेको थियो।

यसअघि जिल्ला अदालत काठमाडौंले भदौ ९ गते महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। त्यसै आदेशका आधारमा बुधबार महर ब्युरोमा उपस्थित भई पक्राउ परेका थिए।

महरविरुद्ध यसअघि पनि बलात्कार र यौन शोषणसम्बन्धी उजुरी परेको थियो। उनी नेकपा एमाले निकट अनेरास्ववियु अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका हुन्। २०७८ मंसिरमा एमालेले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो। तर यौन विचलनसम्बन्धी अडियो सार्वजनिक भएपछि पार्टीले एक पटक निलम्बन गरेको थियो। पछि सचिवालय बैठकबाट उनलाई पुनः जिम्मेवारी दिइएको थियो।

गत प्रतिनिधिसभा निर्वाचनमा महर बझाङबाट उम्मेदवार बनेका थिए। तर उनी नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए।

प्रतिक्रिया