
बागमतीको जलसतह सतर्कता तह नाघ्यो, तटीय बस्तीलाई सतर्क रहन आग्रह
काठमाडौं- जल तथा मौसम विज्ञान विभागले काठमाडौंको गौरीघाटस्थित जलमापन केन्द्रमा बागमती नदीको जलसतह सतर्कता तह नाघेको जनाएको छ।
विभागले बुधबार साँझ ६:०० बजे जारी गरेको सूचनाअनुसार लगातारको वर्षाका कारण बागमतीमा पानीको बहाव बढ्दै गएको छ। यस क्रममा गौरीघाट केन्द्रमा मापन गरिएको जलसतह सतर्कता तहभन्दा माथि पुगेको पुष्टि भएको हो।
“हाल बागमती नदीको जलसतह बढ्दो क्रममा रहेकोले कुनै पनि बेला बाढी आउन सक्ने सम्भावना छ। त्यसैले नदी तटीय क्षेत्रमा बसोबास गर्ने सबैलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिन्छ,” विभागद्वारा जारी सूचनामा भनिएको छ।
विभागले विशेष गरी नदी किनार तथा आसपासका बस्तीमा रहने स्थानीयलाई सुरक्षित स्थानमा सर्ने तयारी गर्न, अनावश्यक जोखिम नलिन र वर्षाको अवस्थाबारे लगातार जानकारीमा रहन आग्रह गरेको छ।



कागजपत्र |
