रुबी साह हत्या प्रकरणका आरोपी लक्ष्मण पासवानको मृत्यु


काठमाडाैं- रौतहटकी रुबी साहको हत्या प्रकरणमा संलग्न भनिएका मुख्य आरोपी लक्ष्मण पासवानको मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहरा अनुसार पासवानको बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनले आत्मदाह प्रयास गरेका थिए।

बुधबार बिहान करिब साढे ६ बजे रौतहटको माधवनारायण नगरपालिका–६ स्थित नहर अगाडि पासवान आफ्नै शरीरमा पेट्रोल छर्की आगो लगाएर गम्भीर घाइते अवस्थामा भेटिएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर बर्न अस्पताल पुर्‍याइएको थियो। तर गम्भीर चोटका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अस्पतालमा उपचारका क्रममा पासवानले रुबी साहको हत्या आफूले नै गरेको स्वीकार गरेका थिए।

गत शनिबार गौर बजार जाँदैछु भनेर डेराबाट निस्किएकी रुबी साह मृत फेला परेकी थिइन्। उनको शव सुटकेसमा प्याक गरिएको अवस्थामा रौतहटमा भेटिएको थियो। यस घटनापछि मुख्य आरोपी मानिएका पासवान फरार रहेका थिए।

प्रतिक्रिया