

गाउँले होटलका सञ्चालक मृत्यु प्रकरणः सोधपुछका लागि २ जना नियन्त्रणमा

काठमाडौं – झापाको बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाको हत्या आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।
सोधपुछका लागि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा डिएसपी राकेश थापाले बताए। नियन्त्रणमा लिइएका दुवै जनाको नाम गोप्य राखिएको छ।
घटनाको अनुसन्धान प्रारम्भिक चरणमा रहेको र पोष्टमार्टम रिपोर्ट्, अन्य कुरा खुलेपछि मात्रै थप बताउन सकिने डिएसपी थापाको भनाइ छ।
निरौलाको शव मेचीनगर नगरपालिका–१२ स्थित प्रगति सामुदायिक वन चारआली जंगलमा आइतबार बिहान फेला परेको थियो। होटलबाट घटनास्थल करिब ५ किलोमिटर दुरीमा पर्छ।
दुई दिनदेखि बेपत्ता रहेका ५० वर्षीय निरौलाको मे. ९ प २२०९ मोटरसाइकल जंगलमा भेटिएपछि खोज्दै जाँदा पूर्वपश्चिम राजमार्गदेखि करिव सय मिटर उत्तर जंगलमा उतानो परेको अवस्थामा उनको लाश फेला परेको प्रहरीले जनाएको छ।
कसैले हत्या गरेर जंगलमा लगेर शव फ्याकेको हुनसक्ने आशंका गरिएको छ। शरीरमा चोट देखिएपनि कस्तो हतियार प्रहार गरेको भनेर प्रहरीले खुलाएको छैन।
संघीय प्रहरी कार्यालयबाट कुकुर झिकाएर अनुसन्धान शुरु गरिएको छ। निरौलाको शवलाई पोष्टमार्टमको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ।
यो पनि पढ्नुहोस्
गाउँले होटलका सञ्चालकको चारआलीको जंगलमा भेटियो शव

