ठमेलमा चिनियाँ नागरिकको कोठा लुटपाट, आफ्नै ठूलोबुबाको छोरा मुख्य योजनाकार


काठमाडौं – गत १६ चैतमा ठमेलस्थित डेरामा बस्दै आएका चिनियाँ नागरिक ३४ वर्षीय युन जाओमेनको कोठामा लुटपाट भयो। मुकुन्डो लगाएर कोठाभित्र प्रवेश गरेको अज्ञात समूहले लुटपाट गरेको थियो।

त्यतिमात्र होइन, चिनियाँ नागरिक जाओमेन, उनकी श्रीमती अञ्जली तामाङ, सालाहरू प्रवेश तामाङ र पासाङ तामाङलाई धारिलो हतियार देखाएर अज्ञात समूहले उनीहरूको हातखुट्टा र मुख बाँधी कोठाभित्रको धनमाल लुटेको प्रहरीले जनाएको छ।

त्यसपछि अज्ञात समूह चिनियाँ नागरिकको कोठामा रहेका धनमाल लुटेर फरार भए। लगत्तै चिनियाँ नागरिक नजिकैको प्रहरी कार्यालय पुगे। अज्ञात समूहले आफूहरुलाई बन्धक बनाएर आफ्नो कोठामा रहेको धनमाल लुटेको भन्दै जाहेरी दिए।

जाहेरीपछि प्रहरी अनुसन्धानमा जुट्यो। महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त लैनचौरको विशेष टोली परिचालन भयो। चोरी भएको ठाउँ नजिकैको सीसीटिभी फुटेज हेर्न थाल्यो।

सीसीटिभी फुटेज हेर्ने क्रममा पहेंलो कपडा लगाएको एक व्यक्तिको हुलिया पत्ता लाग्यो। प्रहरीले अनुसन्धान गर्दै जाँदा ती व्यक्ति सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ रहेको पुष्टि भयो। अनुसन्धानको क्रममा फुलकाजी चिनियाँ नागरिकले बिहे गरेकी नेपाली युवती अञ्जली तामाङको ठुलोबुबाको छोरा रहेको खुल्यो।

अञ्जलीमार्फत प्रहरीले फुलकाजीको मोबाइल नम्बरको लोकेशन ट्रयास गर्न थाल्यो। काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–६ शिवचोक उनको लोकेशन देखियो। तत्कालै काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको निर्देशनमा फुलकाजीलाई प्रहरीले डेराबाटै पक्राउ गर्यो। फुलकाजीलाई प्रहरीले थप केरकार गर्न थाल्यो।

चिनियाँ नागरिकलाई बन्धक बनाएर धनमाल लुटेको घटनामा अन्य ३ जनाको समेत संलग्नता रहेको फुलकाजीले प्रहरीसमक्ष बयान दिए। सिन्धुपाल्चोककै २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ र २८ वर्षीय रोशन लामाको नाम पोले। त्यसपछि प्रहरीले तीनै जनालाई आ–आफ्नो डेराबाट शनिबार र आइतबार पक्राउ गर्यो।

सीसीटिभी फुटेजको आधारमा हुलिया पत्ता लागेपछि घटनामा संलग्न ४ जनालाई पक्राउ गर्न प्रहरी सफल भएको एसएसपी सिंहले बताए। ‘१६ गते राति ९ः१५ बजेको समयमा कोठामा गएर चिनियाँ नागरिकलाई खुकुरी देखाएर धनमाल लुटेको खबरलगत्तै प्रहरी टोली अनुसन्धानमा जुटेको थियो,’ सिंहले भने।

आफ्नै ठूलोबुबाको छोराको योजनामा लुटपाट भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहहरुको साथबाट ७ लाख ९२ हजार रुपैयाँ, चिनियाँ युआन ६ हजार, १ सय, सुनको तिलहरी, बाला, कानमा लगाउने मुन्द्रा, औंठी बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

पीडितले दिएको जानकारीका अनुसार उनीहरूले २० लाख नगद, २८ हजार ६ सय ८० रुपैयाँ बराबरको एउटा सुनको तिलहरी, दुईवटा सुनको औंठी, दुईवटा सुनको सानो बाला र एउटा ठूलो बाला लुटेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया