पूर्व सचिव कार्कीलाई नेपाल चेम्बर गल्फको उपाधि


काठमाडौं – ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि पूर्व सचिव अर्जुन कुमार कार्कीले हात परेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले हात परेका हुन् ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि हात परेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि हात परेका हुन् । ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बनेका छन् ।

महिलातर्फको उपाधि गीता गुरुङले हात पारेकी छिन् । उनले ३८ स्कोर बनाए । रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बने । सिनियर पुरुषतर्फको उपाधि पूर्व सेनाप्रमुख जनरल गौरव शमशेर राणाले जिते ।

सिनियर पुरुषतर्फ दिलीपजंग रायमाझी उपविजेता बने । चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्र कुमार कार्की भए । प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेश कुमार सिंहले जितेका छन् ।

लङ्गेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेज बहादुर राईले जितेका छन् । विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका हुन् ।

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा ८८ जना खेलाडीको सहभागिता रहेको थियो । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी अनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो ।

नेपाल गल्फ पर्यटनको गन्तव्य
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आउँदा वर्षहरूमा ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ लाई अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण गरिने बताए ।

उनले गल्फ लगायत खेलकुद मार्फत पर्यटनको विकासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तयार रहेको बताए । प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले गल्फ लगायतका खेल अर्थतन्त्रसँग जोडिएकाले पर्यटन प्रबर्द्धन मार्फत् वैदेशिक मुद्रा आर्जन गर्न सक्ने बताए ।

देशमा आवश्यकता अनुसारले गल्फ कोर्टहरू बनाई यो खेलको विकासमा लाग्नुपर्ने बताए । रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले नेपाललाई गल्फ पर्यटनको केन्द्र बनाउन सकिने बताए ।

थाइल्यान्डले गल्फ पर्यटनबाट हरेक वर्ष १० लाख पर्यटकहरू आकर्षित गरी ६ बिलियन अमेरिकी डलरको वार्षिक व्यापार गरिरहेको उदाहरण दिँदै उहाँले नेपालले यसबाट प्रेरणा लिन सक्ने बताए ।

नेपालको मौसम, जलवायु, प्राकृतिक सुन्दरता, भूगोल र मित्रवत् नागरिकका कारण गल्फ पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सक्ने सम्भावना रहेको उनले बताए ।

प्रतिक्रिया