
ज्योतिषीले पूजा गर्न बोलाएर बलात्कार गरेको आरोप
काठमाडौं- काठमाडौंको माछापोखरीस्थित एक होटलमा बाँकेकी महिलामाथि बलात्कार गरेको आरोपमा ईश्वर भट्टराईविरुद्ध मुद्दा दायर गरिएको छ। वैदिक ज्योतिष सल्लाहका नाममा सामाजिक सञ्जालमार्फत सम्पर्क गरी पूजा गर्नुपर्ने भन्दै डर देखाएर काठमाडौं बोलाइ बलात्कार गरिएको पीडितको आरोप छ।
भविष्यमा समस्या आउन सक्ने भन्दै पूजा गर्न दबाब दिएका भट्टराईले झारफुक र मन्त्र फुक्ने बहानामा होटलमा लगेर जबरजस्ती बलात्कार गरेको पीडितको दाबी छ। घटनापछि पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन्। भट्टराई अहिले प्रहरी हिरासतमा छन्।
सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा भट्टराईविरुद्ध बलात्कारको अभियोगमा मुद्दा दायर गरेको छ। मुद्दाको सुनुवाइ न्यायाधीश तारादेवी महर्जनको इजलासमा भइरहेको छ।
सरकारी वकिलले भट्टराईलाई कारबाहीसँगै पीडितलाई क्षतिपूर्ति भराउन माग गरेको छ। अदालतले थुनामा राख्ने कि धरौटीमा छोड्ने भन्नेबारे छिनोफानो गर्नेछ।



कागजपत्र |
