
निर्मला हत्या प्रकरण फेरि खुल्दै, अनुसन्धानका लागि सीआईबीलाई गृहमन्त्रीकाे निर्देशन
काठमाडौं- गृहमन्त्री रमेश लेखकले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा पुनः गम्भीर र गहिरो अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन्।
आइतबार सीआईबी कार्यालय निरीक्षण गर्ने क्रममा मन्त्री लेखकले मुलुककै चर्चित र पेचिलो रहँदै आएको यो घटनामा सूक्ष्म अनुसन्धान गरेर दोषीलाई कानुनी दायरामा ल्याउन स्पष्ट निर्देशन दिएका हुन्।
“निर्मला पन्त लगायत ब्युरोले हेर्दै आएका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्दछु,” मन्त्री लेखकले भने, “नेपाल प्रहरीभित्र सीआईबीप्रति आमजनताको भरोसा बढेको छ, त्यसलाई कायम राख्न अझ बढी जिम्मेवारीपूर्वक काम गर्नुपर्छ।”
गृहमन्त्री लेखकले सिमित स्रोतसाधनका बीच पनि सीआईबीले पछिल्लो समय हासिल गरेको उपलब्धि प्रति सन्तोष व्यक्त गर्दै ब्युरोलाई अझ सशक्त बनाउन गृह मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए। उनले सीआईबीलाई आवश्यक प्रविधि, जनशक्ति र भौतिक पूर्वाधारमा सुदृढ बनाइने स्पष्ट पारे।
कार्यक्रममा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले ब्युरोले हालसम्म गरिरहेको अनुसन्धान, सफलताको विवरण तथा आइरहेका चुनौतीबारे जानकारी गराए।
बोगटीका अनुसार निर्मला पन्त प्रकरणका साथै अन्य गम्भीर मुद्दाहरूमा पनि सीआईबीको अनुसन्धान कार्य निरन्तर भइरहेको छ।
कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा, सीआईबी प्रमुख अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङसहित अन्य प्रहरी अधिकारीहरूको उपस्थिति थियो।



कागजपत्र |
