
‘सैयारा’ ले मच्चायो धूम: १२ दिनमै २ सय ६६ करोडको नेट कमाइ
काठमाडाैं- अहान पाण्डे र अनीत पड्डा अभिनीत बलिउड फिल्म ‘सैयारा’ ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। प्रदर्शनको १२औँ दिनसम्म भारतमा मात्र फिल्मले २ सय ६६ करोड भारतीय रुपैयाँ नेट कमाइ गरिसकेको छ। त्यस्तै, भारतभरको ग्रस कलेक्सन ३१९ करोड ७५ लाख रुपैयाँ पुगेको छ।
४५ करोड भारु बजेटमा निर्माण गरिएको यो फिल्मले विश्वभर ४०९ करोड कमाइसकेको निर्माण पक्षको दाबी छ। पहिलो सातामै भारतभित्र फिल्मले १ सय ७२ करोड ७५ लाख रुपैयाँको कारोबार गर्यो। दोस्रो साताको सुरुआतमा पनि व्यापारको गति सुस्ताएको छैन।
दोस्रो हप्ताको शुक्रबार फिल्मले १८ करोड, शनिबार २६.५ करोड र आइतबार विदाको दिन ३० करोड कमाइ गर्यो। त्यसपछि सोमबार ९.२५ करोड र मंगलबार १० करोड भारुको कमाइ गर्दै फिल्मको कुल कमाइ झनै उचाइमा पुगेको हो।
मोहित सुरीको निर्देशनमा बनेको ‘सैयारा’ न केवल सन् २०२५ को सबैभन्दा चर्चित फिल्ममध्ये एक बनेको छ, यो नयाँ कलाकारको अभिनयमा बनेको सबैभन्दा बढी कमाउने हिन्दी फिल्म पनि सावित भएको छ।
यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा अहान र अनीतको अभिनयको सर्वत्र प्रशंसा भइरहेको छ। सामाजिक सञ्जालमा राम्रो फलोइङ भएका अहानको यो डेब्यु फिल्म हो। अर्कोतर्फ, अनीत पड्डा यसअघि काजोलसँग वेब सिरिज ‘बिग गर्ल्स डोन्ट क्राइ’ र फिल्म ‘सलमा भेन्की’ मा देखिइसकेकी हुन्।
निर्देशक मोहित सुरी यसअघि ‘एक भिलेन’, ‘एक भिलेन रिटर्न’, ‘आशिकी २’ र ‘आवारापन’ जस्ता हिट फिल्ममार्फत चिनिइसकेका छन्। ‘सैयारा’ले सुरीको निर्देशन करिअरमा अर्को सफल अध्याय थपेको छ।



कागजपत्र |
