
पोखरामा अवैध विदेशी विनिमय कारोबार: झन्डै ७६ लाखसहित तीन जना पक्राउ
पोखरा- पोखरामा अवैध रूपमा विदेशी विनिमय कारोबारमा संलग्न तीन जना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। कास्की प्रहरीले झन्डै ७६ लाख रुपैयाँसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ हाटबजारका ४५ वर्षीय महुमुद्विन एम अहमद, झापाको दमक नगरपालिका–४ स्थायी घर भई हाल पोखरा महानगरपालिका–६ बैदाम बस्ने ४५ वर्षीय राजकुमार बुढाथोकी र पोखरा–१९ पुरनचौरका ४३ वर्षीय खेमराज पौडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अहमदले कास्की र रुपन्देहीमा रेष्टुरेन्ट सञ्चालन गर्दै आएका छन्। बुढाथोकीले पोखराको लेकसाइडमा हिलारी मनि चेन्जर तथा पौडेलले सगरमाथा मनि चेन्जर सञ्चालन गर्दै आएका थिए।
प्रहरीले विशेष सूचनाका आधारमा पोखरा महानगरपालिका–१७ स्थित विरौटाबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ गरिएको स्थानबाट ठूलो परिमाणमा नेपाली तथा विदेशी मुद्रा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद रकममा अमेरिकी डलर १०० दरका १९६ थान, ५०० यूरोका ३ थान, २९९ यूरोका ८ थान, १०० यूरोका १ थान, नेपाली १००० दरका ४,३७३ थान र १०० दरका ७ थान रहेको कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए।
उनका अनुसार उक्त सम्पूर्ण रकम हालको विनिमय दरअनुसार नेपाली रुपैयाँमा करिब ७५ लाख ९६ हजार ९०० बराबर हुने देखिएको छ।
ती व्यक्तिहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसारको कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। सो ऐनको प्रावधानअनुसार कसैले राष्ट्र बैंकबाट अनुमति नलिई विदेशी विनिमय कारोबार गरेमा कानुनी अपराध मानिन्छ।
डिएसपी बस्नेतका अनुसार, पक्राउ परेका तीनै जनामाथि जिल्ला अदालत कास्कीबाट म्याद थप गराई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।



कागजपत्र |
