निर्मला पन्त हत्याको सात वर्ष : अहिलेसम्म के-के भयो ?


कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको सात वर्ष पुगेकाे छ । १० साउन २०७५ मा साथीको घरमा पढ्न जान्छु भनेर निस्केकी पन्त भोलिपल्ट भीमदत्त नगरपालिकाकै खोला किनारको उखुबारीमा मृत भेटिएकी थिइन् ।

पोष्टमार्टम रिपोर्टले निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको पुष्टि गरेको थियो । १० साउन अर्थात् शनिबार घटनाको सात वर्ष पुगेकाे छ । तर, निर्मला पन्तको बलात्कार र हत्या घटनामा संलग्न भने पत्ता लगाउन भने प्रहरी असफल छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाको अनुसन्धानका क्रममा ६५५ जनासंग विस्तृत रुपमा सोधपुछ भएको छ । घटनामा शंकास्पद मानिएका एक सय २४ जनाको डीएनए परीक्षण पनि भइसकेको छ । तर, कसैको डीएनए पनि मेल नखाएपछि निर्मला घटनाले प्रहरीको छबी नै धुमलिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहरा निर्मलाको बलात्कार र हत्या घटनाको अनुसन्धान अहिले पनि भइरहेको बताउँछन् । ‘सो घटनाका लागि छुट्टै टोली परिचालन गरेर अनुसन्धान नभए पनि सुक्ष्म ढंगले काम भइरहेको छ,’ डीएसपी बोहराले भने, ‘घटनाबारे केही नयाँ जानकारी आयो भने टोली परिचालन हुन्छ । शंकास्पदसंग सोधपुछ हुन्छ ।’

प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमका प्रमुख डीआइजी डम्मरबहादुर बिक पनि निर्मला पन्त घटनाको अनुसन्धानका लागि अहिले छुट्टै टोली नरहेको बताउँछन् । ‘प्रदेश र जिल्लाबाट छुट्टै टोली परिचालन गरिएको छैन,’ डीआइजी बिकले भने, ‘केन्द्रबाटै घटनाको अनुसन्धान भइरहेको छ । यद्यपी प्रदेश र जिल्लाले पनि सुक्ष्म ढंगले काम भने गरिरहेको छ ।’

पछिल्लोपटक घटनाको अनुसन्धानको लागि ०८१ चैतमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीको दुई सदस्यीय टोली महेन्द्रनगरमा पुगेको थियो । चैतमा दीपक थापा नेपाल प्रहरीको ३१औँ महानिरीक्षक बनेपछि उक्त टोली घटनाको अनुसन्धानका लागि परिचालन भएको थियो । तर, उक्त टोलीले पनि नयाँ क्लु फेला पार्न सकेन ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रकुवेर खापुङ निर्मला घटनाको अनुसन्धान अहिले पनि सीआइबीले गरिरहेको बताउँछन् । ‘अपराध घटनामा अनुसन्धान नसक्दासम्म नतिजा शून्य जस्तै देखिन्छ,’ एआइजी खापुङले भने, ‘अनुसन्धान सकिएपछि शून्यबाट सिधै सत प्रतिशत पुग्ने हो । निर्मला घटनामा पनि अहिले प्रगति शून्य जस्तै छ । घटनाबारे मिडियलाई दिन केही नयाँ नभए पनि हामीले घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौं ।’

भीमदत्त नगरपालिकास्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त ०७५ साउन १० गते साथीको घर गएकी थिइन् । १० साउनमै बेपत्ता भएकी निर्मलाको खोजी सुरु भयो । भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको शव फेला प¥यो । निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आएको थियो ।  प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलिपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गरेको थियो । स्थानीयले बिष्ट दोषी नभएको भन्दै आन्दोलन सुरु गरे । डीएनए म्याच नभएपछि बिष्ट पनि छुटेका थिए। नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीमाथि लाग्यो । निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको थियो।

 

 

 

प्रतिक्रिया