
काठमाडौंका युवकलाई भारत लगेर बन्धक बनाउने दुई जना पक्राउ
काठमाडौं- काठमाडौँबाट एक युवकलाई भारतको पटनामा लगेर बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको सुनकोसी गाउँपालिका घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएका २४ वर्षीय राजकुमार अच्छामी र सिन्धुपाल्चोक घर भई पर्सामा बस्दै आएका ४५ वर्षीय रेशमबहादुर खत्री छन्।
मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक (एसपी) रुगम कुँवरका अनुसार खत्रीलाई वीरगन्जबाट र अच्छामीलाई बल्खुबाट साउन ५ गते पक्राउ गरिएको हो।
पीडित युवकलाई ३५ हजार भारतीय रुपैयाँ मासिक तलब आउने प्रलोभन देखाएर वैशाख १९ गते भारतको पटना नजिकैसम्म लगिएको थियो। त्यहाँको ‘वेल स्टार डाइनामिक कम्पनी’मा लगेर तालिमको नाममा उनीहरूसँग १० हजार भारतीय रुपैयाँ असुलिएको प्रहरीले जनाएको छ।
यही कम्पनीमा लगानी गर्न दबाब दिँदै २ लाख भारतीय रुपैयाँ माग गर्दै ती युवकलाई बन्धक बनाइएको अनुसन्धानबाट खुलेको छ।
पीडितलाई बन्धक बनाएर नेपालबाट अन्य युवाहरूलाई पनि बोलाउन दबाब दिइएपछि उनी त्यहाँबाट भागेर नेपाल फर्किएका थिए।
एसपी कुँवरका अनुसार भारतको पटना र मुजफ्फरपुर क्षेत्रमा नेपाली युवाहरूलाई जबरजस्ती नेटवर्किङको नाममा आर्थिक र श्रम शोषण गरिने घटनाहरू बढिरहेका छन्।
‘तालिम लिएका युवालाई सुट लगाएर देखाइन्छ, लगानी गर्नुपर्ने र नयाँ ग्राहक ल्याउनुपर्ने भन्दै दबाब दिइन्छ,’ उनले भने।
पक्राउ परेका दुबै अभियुक्तविरुद्ध प्रहरीले ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।



कागजपत्र |
