ग्रीस जाने सपना देखाएर ठगी, धादिङका सापकोटा पक्राउ


काठमाडौं- वैदेशिक रोजगारीका लागि ग्रीस पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका–५ स्थायी घर भई हाल भक्तपुर, मध्यपुरथिमी नगरपालिका–९ मा बसोबास गर्ने २९ वर्षीय सुदिप सापकोटा छन्।

उनले आकर्षक तलब र सुविधा हुने भन्दै एक व्यक्तिबाट दुई लाख ४० हजार रुपैयाँ लिई ग्रीस पठाइदिने आश्वासन दिएका थिए। तर, लामो समयसम्म रोजगारीका लागि विदेश नपठाई सम्पर्कविहीन बनेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा सापकोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका–१५ बाट शनिबार पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार उनलाई प्रारम्भिक अनुसन्धानपछि थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

प्रतिक्रिया