२० घण्टा नबित्दै दुर्गेश थापाको ‘जाने भए जाम माया’ युट्युब ट्रेन्डिङमा


काठमाडौं — गायक तथा मोडल दुर्गेश थापाको नयाँ गीत ‘जाने भए जाम माया’ युट्युबमा सार्वजनिक भएको २० घण्टा नपुग्दै संगीततर्फ ट्रेन्डिङ नम्बर १ मा पर्न सफल भएको छ।

दुर्गेशले यस गीतमार्फत भ्लगर सिसन बानियाँ र सामाजिक सञ्जालमा भाइरल भएकी ‘गुराँस नानी’सँग सहकार्य गरेका छन्। भिडियो छायांकनकै क्रममा चर्चामा आएको यो सहकार्य बुधबार दर्शकले हेर्न पाएका हुन्।

दुर्गेश थापाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले छोटो समयमै दर्शकको अत्यधिक साथ पाएको छ। २० घण्टाको अवधिमा गीतले १७ लाखभन्दा बढी भ्युज, १ लाख ९० हजारभन्दा बढी लाइक र १६ हजारभन्दा बढी कमेन्ट बटुलेको छ।

नेपालको सन्दर्भमा हेर्दा, यो गीतले छोटो समयमै पाएको भ्युज अत्यन्त उल्लेखनीय हो। यसअघि २४ घण्टामा सबैभन्दा धेरै भ्युज पाएको गीत गायीका विष्णु माझीको स्वरमा रहेको ‘आइनँ आमा यो तीजमा’ थियो, जसले १५ लाखभन्दा केही बढी भ्युज पाएको थियो।

त्यसको तुलना गर्दा ‘जाने भए जाम माया’ नेपाली युट्युब इतिहासमा २४ घण्टा नपुग्दै सबैभन्दा धेरै हेरिएको गीत बनेको छ।

गीतका शब्द र संगीत दुर्गेश थापाकै हुन् भने यसमा दुर्गेश, सिसन बानियाँ र अल्हाजी गेरोको स्वर रहेको छ। गीतको सफलता पछाडि आकर्षक प्रस्तुति, लोकप्रिय सहकार्य र दर्शकसँगको जोडलाई मुख्य कारण मानिएको छ।

प्रतिक्रिया