
भारतमा बुवाले गरेको लुटपाटका कारण नेपाल बस्ने छोराको सपना चकनाचूर
दाङ- भारतीय सेनामा भर्ती हुने सपना बोकेर सल्यानका अजय विक दाङ झरे। दाङको घोराहीस्थित लोटस ट्रेनिङ सेन्टरमा आवासीय तालिम लिँदै गर्दा उनी आफ्नै बाबुको अपराधमा तानिए र अहिले प्रहरी हिरासतमा छन्।
सल्यानको कपुरकोट–३, फलाटेका १९ वर्षीय विकका बाबु अनमोल विक भारतको हरियाणा राज्यमा मजदुरी गर्थे। सेना बन्ने तयारीका लागि दाङ झर्न सुझाव दिने पनि बाबु नै थिए।
करिब १० दिनअघि बाबु अनमोल दाङ आएका थिए। बाबुछोराको भेट भयो। तर, त्यो भेट उनका लागि दुर्भाग्य साबित भयो। बाबुले अजयलाई एउटा अत्याधुनिक पेस्तोल, सात राउन्ड क्षमताको म्यागेजिन र चार गोली दिए। अजयले ती हतियार होस्टेलको खाटमुनि झोलामा राखिदिए। केही दिनमै बाबु भारत फर्किए।
तर, बाबु अनमोल विक भारतको हरियाणामा लुटपाटको अभियोगमा पक्राउ परे। भारतीय प्रहरीसँगको बयानमा अनमोलले नेपाल फर्किँदा लुटपाटमा प्रयोग भएको पेस्तोल छोरालाई राख्न दिएको बताएका थिए। उक्त सूचना भारतीय प्रहरीले दाङ प्रहरीलाई पठायो।
दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार सूचना प्राप्त भएपश्चात अजय बस्दै आएको होस्टेलमा खानतलासी गर्दा उक्त पेस्तोल, म्यागेजिन र ४ गोली फेला परेको हो। ७ राउन्ड क्षमताको म्यागेजिनमा ३ गोली भारतमै प्रयोग भइसकेका थिए।
बाबुको आग्रहले हतियार लुकाएर राखेको मात्रै भन्दै अजयले आफू निर्दोष रहेको दाबी गरे पनि अब उनीमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा लाग्ने भएको छ।



कागजपत्र |
