
अंश विवादका कारण देवरले गरे भाउजुको हत्या
मोरङ — मोरङको रतुवामाई नगरपालिका–६ मा ६० वर्षीया टीकामाया कार्की बस्नेतको हत्या आरोपमा प्रहरीले ६९ वर्षीय टंकबहादुर बस्नेतलाई पक्राउ गरेको छ। उनीहरू देवर–भाउजु हुन्।
मोरङ प्रहरीका अनुसार २१ असारमा आफ्नै बारीमा घाँस काट्न गएकी टीकामायाको शव फेला परेको थियो। शव परीक्षणमा टाउको पछाडि गम्भीर चोट भेटिएको थियो।
अनुसन्धानपछि टंकले अंश विवादकै कारण हँसियाको बिँडले प्रहार गरेर हत्या गरेको खुलेको छ। दाजु गणेशबहादुर र टंकबीच लामो समयदेखि पुर्ख्यौली सम्पत्तिको विवाद चलिरहेको थियो, जसका कारण उनीहरू अदालतसम्म पुगेका थिए।
प्रहरीले टंकलाई घरबाटै पक्राउ गरी कर्तव्य ज्यान अभियोगमा कारबाही अगाडि बढाएको जनाएको छ।



कागजपत्र |
