
विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन सरकारलाई ५ दिनको अल्टिमेटम
काठमाडौं- विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सरकारलाई पाँच दिनको समय दिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिका सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री रघुजी पन्तलाई स्पष्ट रूपमा निर्देशन दिएका हुन्।
सभापति थापाले सरकार समितिलाई ‘खेलौनाजस्तो’ व्यवहार गरिरहेको आरोप लगाउँदै भने, “कहिले बैठक बोलाउने, कहिले स्थगित गर्ने — यस्तो लहडको कुरा कति पटकसम्म? अब यो अन्तिम मौका हो।”
शिक्षामन्त्री पन्तले शिक्षक महासङ्घसँगको वार्ता अझै चलिरहेको भन्दै विधेयकमाथि सहमति जुटाउन थप समय माग गरेका थिए। उनले असार १६ गतेदेखि निरन्तर समय माग्दै आएका छन्।
सभापति थापाले चेतावनी दिँदै भने, “अब तपाईं अनिश्चितताको कुरा नगर्नुहोस्। कति दिनभित्र सहमति लिएर आउनुहुन्छ, त्यो समय तोक्नुपर्छ। नयाँ विषय लिएर होइन, यही विधेयकबारे सहमति ल्याएर आउनुहोस्।”
समितिले सरकारलाई पाँच दिनको अल्टिमेटम दिएको छ र त्यसपछि थप ढिलाइ भए कार्यान्वयन पक्षमा कडा कदम चाल्न सकिने संकेतसमेत गरिएको छ।



कागजपत्र |
