
नेपाली सेनाको परिचयपत्र बोकेका युवक ब्राउनसुगरसहित पक्राउ
नेपालगञ्ज-बाँकेमा नेपाली सेनाको परिचयपत्र बोकेका एक युवक १० ग्रामभन्दा बढी ब्राउनसुगरसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–२ निवासी २६ वर्षीय सन्जु आले रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीका अनुसार आलेको घरबाटै १० ग्राम ६२० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो। प्रारम्भिक अनुसन्धानका क्रममा आलेले नेपाली सेनाको परिचयपत्र बोकेको पाइएको भए पनि उक्त परिचयपत्र सक्कली वा नक्कली भन्ने विषयमा अझै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय वनकटुवाबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाका आधारमा सन्जुलाई नियन्त्रणमा लिएको हो। टोलीले घरमा खोजतलास गर्ने क्रममा जाँडको ड्रमभित्र लुकाइ राखिएको अवस्थामा ब्राउनसुगर बरामद गरेको हो।
पक्राउ परेका आलेलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ।



कागजपत्र |
