
प्रधानमन्त्री ओलीलाई रियल मड्रिडको ७ नम्बर जर्सी दिएर सम्मान
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वप्रसिद्ध स्पेनिस फुटबल क्लब रियल मड्रिडले सम्मानस्वरूप ७ नम्बरको जर्सी प्रदान गरेको छ।
स्पेनको मेड्रिडस्थित सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमणका क्रममा प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले पूर्वस्टार क्रिस्टियानो रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी प्रदान गर्दै स्वागत गरेका हुन्।
हाल उक्त ७ नम्बरको जर्सी ब्राजिलियन फरवार्ड भिनिसियस जुनियरले लगाउने गरेका छन्। भ्रमणका क्रममा क्लबका प्रतिनिधिले प्रधानमन्त्री ओलीलाई अत्याधुनिक प्रविधियुक्त नयाँ बर्नाबाउ रंगशालाको अवलोकन गराएका थिए।
प्रधानमन्त्री ओली हाल संयुक्त राष्ट्रसंघको फाइनान्सिङ फर डेभलपमेन्ट (विकासका लागि वित्त) सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन गएका छन्। भ्रमण अवधिभर उनले विभिन्न संयुक्त राष्ट्रसंघीय कार्यक्रम र अल्पविकसित मुलुकसम्बन्धी बैठकहरूको अध्यक्षता पनि गरेका छन्।
प्रधानमन्त्री ओलीको रियल मड्रिड भ्रमणलाई कूटनीतिक सन्दर्भमा पनि एक सकारात्मक संकेतका रूपमा हेरिएको छ।



कागजपत्र |
