अस्तित्वमै नरहेको विद्यालयको नाममा भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा दायर


काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्तित्वमै नरहेको विद्यालयको नाममा योजनाबद्ध रूपमा भ्रष्टाचार गरेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ।

डोल्पाको तत्कालीन दुनै गाविसस्थित दुर्गा प्राथमिक विद्यालय तिप्लाको नाममा विद्यालय भवन निर्माणको योजना देखाएर ७ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले बिहीबार आरोपपत्र दर्ता गरेको हो।

अनुसन्धानका क्रममा सो नामको कुनै विद्यालय हालसम्म सञ्चालनमा नरहेको र त्यहाँ रहेको एक मात्र विद्यालय श्री लालिगुँरास आधारभूत विद्यालय रहेको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। शिक्षा कार्यालय र प्राविधिक टोलीको स्थलगत अनुगमनबाट दुर्गा प्रा.वि. नामक विद्यालय काल्पनिक भएको प्रमाणित भएको हो।

उक्त योजनाका लागि उपभोक्ता समिति गठन गरेर झुटा कागजात तयार पारिएको र सोही आधारमा निर्माण खर्च देखाएर रकम भुक्तानी गरिएको आयोगको दाबी छ।

जिल्ला प्राविधिक कार्यालय डोल्पाका तत्कालीन इन्जिनियर रविचन्द्र पजियार, लेखापाल मनिराम कुर्मी, उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा र कोषाध्यक्ष संगिता बुढाले आपसी मिलेमतोमा सरकारी कोषबाट रकम निकालेको आरोप लगाइएको छ।

चारै जनाविरुद्ध जनही ७ लाख ६० हजार रुपैयाँ बराबरको बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया