लिभरपुलका स्टार खेलाडी डियोगो जोटाको कार दुर्घटनामा निधन


स्पेन, ज़ामोरा — लिभरपुल र पोर्चुगलका चर्चित फुटबलर डियोगो जोटाको कार दुर्घटनामा निधन भएको छ। स्पेनको उत्तरपश्चिमी सहर ज़ामोराको नजिकै बिहीबार बिहान कार दुर्घटना हुँदा जोटाको मृत्यु भएको हो।

स्पेनको सरकारी टेलिभिजन टिभीई र समाचार संस्था रोयटर्सका अनुसार २८ वर्षीय जोटा र उनका भाई आन्द्रे सिल्भा दुबैको घटनास्थलमै ज्यान गएको हो।

यो दुर्घटना जोटाको विवाह भएको १० दिनमै भएको बताइएको छ। स्पेनको समाचार संस्था मार्काका अनुसार गाडीमा आगलागीसमेत भएको र आगो आसपासको वन क्षेत्रमा समेत फैलिएपछि दमकल विभागले नियन्त्रणमा लिएको थियो।

स्पेनको ज़ामोरा प्रान्तीय काउन्सिलले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “ए–५२ राजमार्ग (पालासिओस दे सानाब्रिया) मा भएको दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। उनीहरू क्रमशः २८ र २६ वर्षका थिए। गाडीमा आगलागी भएपछि वरपरको जंगलमा समेत आगो फैलिएको थियो। शोक।”

जोटा पोर्चुगलको पोर्टो सहरमा जन्मिएका थिए र आफ्नो फुटबल यात्रा पासोस दे फेरेराको एकेडेमीबाट सुरु गरेका थिए। सन् २०१६ मा एट्लेटिको म्याड्रिडले उनलाई अनुबन्ध गरेपनि उनले क्लबको लागि कुनैपनि ला लिगा खेल खेल्न पाएनन्। त्यसपछि उनले एफसी पोर्टो र वुल्भ्सका लागि ऋणमा खेलेका थिए।

उनको करियरले भने लिभरपुलमा गति लिएको थियो। प्रशिक्षक युर्गन क्लोपको नेतृत्वमा उनले क्लबलाई एफए कप र लिग कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए। पछिल्लो २०२४/२५ सिजनमा भने लिभरपुलले नयाँ प्रशिक्षक आर्ने स्लटको नेतृत्वमा प्रिमियर लिग उपाधि जित्दा जोटाको योगदान निर्णायक थियो।

अन्तर्राष्ट्रिय स्तरमा पनि उनी पोर्चुगलको २०१९ र २०२५ को युएफा नेसन्स लिग जित्ने टोलीका सदस्य थिए।

चतुर पोजिसनिङ, आक्रामक प्रेसिङ र निर्णायक गोल गर्नसक्ने क्षमताका कारण जोटा पोर्चुगलका भरपर्दा स्ट्राइकरमध्ये एकका रूपमा चिनिएका थिए।

उनको असामयिक निधनले फुटबल जगतमा शोक छाएको छ।

प्रतिक्रिया