
अपहरण र लुटपाट आरोपमा वाईसीएल विराटनगरका नेता कुशल पाण्डे पक्राउ
विराटनगर- अपहरणपछि नगद लुटपाट गरेको आरोपमा वाईसीएल (योङ कम्युनिष्ट लिग) विराटनगरका नेता कुशल पाण्डे पक्राउ परेका छन्। नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन वाईसीएलसँग आबद्ध पाण्डेलाई मोरङ प्रहरीले बुधबार पक्राउ गरेको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, असार ११ गते बिहान ११:१५ बजे विराटनगर–१५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई अपहरण गरी उनीसँग रहेको तीन लाख ६४ हजार रुपैयाँ लुटिएको थियो। पीडित विक्रमले उक्त रकम आफ्ना भिनाजु धर्मानन्द साहबाट लिएर बैंकमा जम्मा गर्न जाँदै थिए।
प्रहरीका अनुसार घटनाको मुख्य योजनाकार कुशल पाण्डे हुन्। घटनामा उनको साथमा विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २६ वर्षीय आशिव अन्सारी संलग्न थिए। ती दुई जनालाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको थियो भने पाण्डे फरार थिए। पछिल्लो अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिइएको हो।
तीनजनाको समूहले महतो टोल, विराटनगर–१३ बाट विक्रमलाई अपहरण गरी “हामी प्रहरी हौं” भन्दै १४ प ३३३० नम्बरको स्कुटरमा राखेर आँखा अस्पताल हुँदै विराटनगर–१४ जतुवामा लगेर लुटपाट गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरी स्रोतका अनुसार, अपहरणको योजना पाण्डेले बनाएका थिए भने अन्य दुई जना सहायकको रूपमा प्रयोग भएका थिए। लुटपाटका क्रममा पीडितलाई हल्ला गरे ज्यान मार्ने धम्कीसमेत दिइएको थियो।
पाण्डे वाईसीएल विराटनगरका पूर्वसदस्य हुन्। तर उनले प्रहरीसमक्ष आफू वाईसीएल विराटनगरको अध्यक्ष रहेको दाबी गरेका छन्। घटनामा प्रयोग गरिएको स्कुटर र मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, अपहरण र डकैती गम्भीर अपराध भएकाले घटनाको बहुआयामिक अनुसन्धान भइरहेको छ। पाण्डेविरुद्ध शरीर बन्धक बनाएर डाँका गरेको कसुरमा मुद्दा दर्ता गर्ने तयारी छ। बिहीबार म्याद थप गरी थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।



कागजपत्र |
