
तातोपानी नाकाबाट पहिलो पटक भित्रियो चिनियाँ हेलिकप्टर
सिन्धुपाल्चोक- तातोपानी भन्सार नाका हुँदै पहिलोपटक हेलिकप्टर नेपाल भित्रिएको छ। माउन्टेन हेलिकप्टर प्रालिले चीनको बाटो हुँदै हेलिकप्टर आयात गरेको हो।
फ्रान्सको एयरबस कम्पनीमा निर्मित उक्त हेलिकप्टरलाई पंखा लगायतका पार्टपूर्जा अलगगरी ४० फिटे कन्टेनरमा लोड गरेर ल्याइएको माउन्टेन हेलिकप्टरका कर्पोरेट म्यानेजर रामचन्द्र भुसालले बताए।
हेलिकप्टर अहिले तातोपानी भन्सारमा जाँचपासको प्रक्रियामा छ। भन्सार प्रमुख राजेन्द्र प्रसाद चुडालका अनुसार, तातोपानी नाकाबाट हेलिकप्टर भित्रिएको यो पहिलोपटक हो।
यसअघि माउन्टेन हेलिकप्टरले एक युनिट कलकत्ताबाट वीरगञ्ज हुँदै ल्याएको थियो। चीनको बाटो प्रयोग गर्दा समुद्री मार्गको तुलनामा झण्डै तीन हप्ता समय बचत हुने कम्पनीको भनाइ छ।
भुसालका अनुसार जाँचपासपछि हेलिकप्टर माउन्टेन फ्लाइटमा प्रयोग हुनेछ। यो नयाँ हेलिकप्टरसहित कम्पनीसँग अब तीन युनिट हेलिकप्टर हुनेछन्।



कागजपत्र |
