
कैलालीको होटलबाट पाैने ३ किलो अफिमसहित ३ जना पक्राउ
धनगढी – कैलालीमा २ किलो ७१४ ग्राम लागुऔषध (अफिम) सहित तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलाली र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले घोडाघोडी नगरपालिका–१ स्थित श्री पञ्चकोशी होटल एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा हुम्ला सुर्केगाड गाउँपालिका–५ का ३२ वर्षीय लोकेन्द्र बहादुर शाही, सोही ठाउँका २७ वर्षीया सालु शाही, र रोल्पा सुनछहारी गाउँपालिका–७ की ३२ वर्षीया पूर्णिमा पुन मगर रहेका छन् ।
प्रहरी नायव उपरीक्षक रमेश दत्त अवस्थीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सुखड र ब्युरोबाट खटिएको संयुक्त टोलीले साउन १६ गते होटलमै विशेष अपरेसन चलाउँदै लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालय सुखडको हिरासतमा राखी थप अनुसन्धान थालिएको छ ।



कागजपत्र |
