
मोरङमा ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या, काका पक्राउ
मोरङ – मोरङको धनपालथान गाउँपालिका–५ मा एक ७ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा बालिकाकै काका नाता पर्ने २२ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान करिब ४ः४५ बजे श्री दुर्गा आधारभूत विद्यालय नजिक बालिकाको शव फेला परेको हो। शवमा चोटपटक देखिएको र प्रारम्भिक अनुसन्धानले जबरजस्ती करणीपछि हत्या गरिएको पुष्टि भएको नायब उपरीक्षक (डीएसपी) कोपिला चुडालले जानकारी दिइन्।
बालिका राति आफ्ना आमाबुबासँगै सुतेकी थिइन्। तर बिहान ३ बजेतिर उनी हराएको थाहा पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। केही घण्टापछि नजिकैको विद्यालय क्षेत्रबाट बालिकाको शव फेला परेको थियो।
प्रहरीले घटनाबारे अनुसन्धान गर्दा काका नाता पर्ने युवकमाथि शंका ग¥यो। सोही आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा घटनामा संलग्न रहेको प्रारम्भिक प्रमाण भेटिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका युवकमाथि कर्तव्य ज्यान तथा हाडनाता करणीसम्बन्धी मुद्दामा मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ।



कागजपत्र |
