
भारतमा बन्धक बनाइएका नेपालीलाई यसरी गरिएकाे थियाे उद्धार
काठमाडौं — सामाजिक संस्था ‘किन इन्डिया’ का निर्देशक नवीन जोशीको नेतृत्वमा भारतमा बन्धक बनाइएका ५७ नेपालीको सफल उद्धार गरिएको छ। गड्डाचौकी नाका हुँदै नेपाल फर्किएका ती नेपालीलाई संवेदनशील रूपमा उद्धार गरिएको जोशीले बताएका छन्।
जोशीका अनुसार झन्डै एक महिना अघि नै उनीहरूले भारतमा नेपालीहरू बन्धक बनाइएको सूचना पाएका थिए। तर ताप्लेजुङका एक युवाको मृत्यु भएपछि घटनालाई गम्भीर रूपमा लिएर अनुसन्धान र उद्धार प्रक्रिया अघि बढाइएको थियो।
उनले भने, “हामीलाई पहिले नै जानकारी थियो, तर ताप्लेजुङका एक भाइ मृत भेटिएपछि घटनालाई गहिरिएर हेर्न थाल्यौं। उत्तराखण्ड प्रहरीको सहयोगमा बन्धक बनाइएका नेपालीहरू बसेको स्थानमा पुग्दा उनीहरूलाई लाइन लगाएर अरूलाई बोलाउन बाध्य बनाइएको थियो। तीनवटा फोहोर कोठामा ३० जना कोचेर राखिएको थियो। उनीहरू डराइरहेका थिए, तर जब बन्धक बनाउने वीरेन्द्र शाही पक्राउ परेको खबर आयो, त्यसपछि नेपालीहरू खुल्न थाले।”
बन्धक बनाइएका एक जनाका आमाको मृत्यु हुँदा पनि घर जान नदिएको, चरम यातना सहनु परेको, कोठा परिवर्तन गर्दै भगाउने प्रयास गरिएको, र धेरैलाई शोषण गरिँदै आएको जोशीले बताए। वीरेन्द्र शाही, मनिष तिवारीसहितको गिरोहले भारतको रुद्रपुर र काशीपुर क्षेत्रबाट रोजगारीको नाममा नेपालीहरूलाई बन्धक बनाएको खुलासा भएको छ।
‘किन इन्डिया’, भारतस्थित नेपाली दूतावास, नेपाल प्रहरी र भारतीय प्रहरीको समन्वयमा बन्धकहरूलाई सुरक्षित रूपमा उद्धार गरिएको हो। उनीहरूलाई बसमार्फत गड्डाचौकीसम्म ल्याइएको थियो, जहाँ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी डम्बरबहादुर विश्वकर्माले स्वागत गरेका थिए।
उद्धार गरिएकामध्ये कैलाली र डोटीका ११ जना रहेका छन् भने अन्य चितवन, सुनसरी, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धादिङ, कास्की, स्याङ्जा, रुपन्देही लगायत विभिन्न जिल्लाका हुन्। उनीहरूलाई कञ्चनपुरमा वासको व्यवस्था गरी बिहीबारदेखि आफ्ना जिल्लातर्फ पठाउन थालिएको छ।
नवीन जोशीको नेतृत्वमा रहेको ‘किन इन्डिया’ संस्थाले यसअघि पनि भारतमा फसेका सयौं नेपालीको उद्धार गरिसकेको छ।



कागजपत्र |
