
उपचारमा लापरबाही: उपभोक्ता अदालतबाट अहिलेसम्मकै ठूलो क्षतिपूर्ति
काठमाडौं— उपचारमा लापरबाहीका कारण २८ महिनाकी बालिकाको ज्यान गएको घटनामा उपभोक्ता अदालतले अहिलेसम्मकै ठूलो क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ।
न्यायाधीशत्रय रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले हिमाल हस्पिटल प्रालि र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई संयुक्त रूपमा १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउन बिहीबार आदेश दिएको हो।
इजलासका अधिकृत शोभाकर खरेलका अनुसार अस्पतालले क्षतिपूर्तिको ७० प्रतिशत अर्थात् १ करोड १ लाख ८० हजार रुपैयाँ, र चिकित्सक यादवले ३० प्रतिशत अर्थात् ४३ लाख ६३ हजार रुपैयाँ तिर्नुपर्नेछ।
लापरबाहीका कारण शिशुको मृत्यु
२०८० माघ २३ गते गंगा गौतमले आफ्नी २८ महिनाकी छोरी प्रशंसा गौतमलाई सामान्य रुघाखोकी र ज्वरोका लक्षण देखिएपछि हिमाल अस्पतालमा भर्ना गराएका थिए। तर पीडितका अनुसार चिकित्सक यादवले प्रारम्भिक परीक्षण नगरी औषधि दिई घर पठाए। स्वास्थ्यमा सुधार नआएपछि पटक–पटक अस्पताल जाँदा समेत एक्स-रे वा रक्त परीक्षण नगरी बाफ दिन सुझाइएको थियो।
गौतमले अदालतमा दायर गरेको रिटमा उल्लेख भएअनुसार, २५ माघमा अवस्था गम्भीर भएपछि अस्पतालले आईसीयू नभएको जनाउँदै अन्यत्र रेफर गर्यो। तर कान्ति बाल अस्पतालमा बेड नपाएपछि मेट्रो अस्पताल लैजाँदै गर्दा प्रशंसा गौतमको बाटोमै मृत्यु भयो।
काउन्सिल र मन्त्रालयले पुष्टि गरे लापरबाही
शिशुकी आमाबुवा गंगा गौतम र आशिका भण्डारीले चिकित्सा काउन्सिल र स्वास्थ्य मन्त्रालयमा उजुरी दिएका थिए। काउन्सिलले चिकित्सकीय प्रक्रियामा त्रुटि रहेको भन्दै चेतावनी दिएको थियो भने मन्त्रालयले पनि अस्पतालको लापरबाही पुष्टि गरेको थियो।
उपभोक्ता अदालतमा पुगेको मुद्दा
यसपछि गौतम दम्पतीले १ करोड ९५ लाख रुपैयाँ क्षतिपूर्ति माग गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका थिए। पछि सो मुद्दा उपभोक्ता अदालतमा सर्यो। पीडित पक्षबाट वरिष्ठ अधिवक्ता नारायणप्रसाद घिमिरेले कानुनी पैरवी गरेका थिए।



कागजपत्र |
