
प्रहरी वृत्त बानेश्वरका डीएसपी खतिवडाद्वारा विपद् व्यवस्थापन सामग्री हस्तान्तरण
काठमाडौं – बाढीपहिरो र अन्य प्राकृतिक विपद्को सम्भावना बढेको अहिलेको मौसमलाई मध्यनजर गर्दै प्रहरी वृत्त बानेश्वरले विपद् व्यवस्थापनमा प्रयोग हुने विभिन्न सामग्री आफ्ना मातहतका पोष्टहरूलाई हस्तान्तरण गरेको छ।
धोबीखोला तथा बागमती कोरिडोरमा पर्ने सम्भावित जोखिम क्षेत्रका प्रहरी पोष्टहरूलाई उद्दार सामग्री वितरण गरिएको हो। प्रहरी वृत्तका नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त सामग्री हस्तान्तरण गर्दै विपद् आइपरेका बेलामा सबैभन्दा पहिले प्रहरी पुग्ने भएकाले उनीहरूलाई पूर्वतयारी अवस्थामा राख्न सामग्री सहयोग गरिएको जानकारी दिए।
‘मनसुनको समयमा बाढीपहिरो लगायतका जोखिम बढ्ने भएकाले उद्धार र खोज कार्यमा खटिने प्रहरीलाई आवश्यक सामग्री प्रदान गरिएको हो,’ डीएसपी खतिवडाले भने, ‘यी सामग्रीको उचित संरक्षण र सदुपयोग हुनुपर्छ भन्नेमा हामी सचेत छौं।’
हस्तान्तरण गरिएका सामग्रीमा १० थान लाइफ ज्याकेट, ५ थान स्टेचर्स , २५ जोर सेफ्टी बुट, २५ जोर सेफ्टी ग्लोब्स, १० थान फायर रेसिष्टेन्ट ज्याकेट र १० थान हेल्मेट रहेका छन्। यी सामग्री विपद् व्यवस्थापनमा तत्काल परिचालन गर्न सकिने गरी वितरण गरिएको हो।
प्रहरीले बर्सेनि विपद्का बेला जनताको सुरक्षाका लागि अग्रपंक्तिमा खटिनुपर्ने भएकाले उनीहरूलाई उपकरणसहित तयारी अवस्थामा राख्न यस्तो पहल गरिएको वृत्तले जनाएको छ।



कागजपत्र |
