
एमपिए तेस्रो सेमेस्टरको परीक्षामा नक्कली परीक्षार्थी समातिए
काठमाडौं– काठमाडौँ महानगरपालिका–१४ स्थित जनप्रशासन क्याम्पसमा एमपिए तेस्रो सेमेस्टरको परीक्षामा अर्काको सट्टामा परीक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति जुम्ला चन्दननाथ नगरपालिका–८ का स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–४ धुम्बाराही बसोबास गर्ने २६ वर्षीय केशव रोकाया रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।
प्रवक्त बोहराका अनुसार रोकाया सो क्याम्पसमा अध्ययनरत दानबहादुर रोकायाको तर्फबाट परीक्षामा सहभागी भएका थिए। घटनाबारे क्याम्पसले प्रहरीलाई पत्र पठाएपछि उनी पक्राउ परेका हुन्।
उनलाई शिक्षासम्बन्धी ऐन अन्तर्गतको कसुरमा कारबाही अघि बढाइएको र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
