
पशुपति कोषमा १० करोड भ्रष्टाचार, सदस्य सचिव थापासहित १४ जनाविरुद्ध मुद्दा
काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषमा भएको ठूलाे भ्रष्टाचार प्रकरणमा सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ जना व्यक्ति र २ कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी करिब १० करोड ३३ लाख ९१ हजार रुपैयाँ हिनामिना गरिएको अभियोगमा मुद्दा दायर गरिएको हो। आयोगले यो रकम बराबरको बिगो मागदाबी गरेको छ।
मुद्दामा डा. थापासँगै तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा, उपनिर्देशक रेवतीरमण अधिकारी, इन्जिनियरहरू पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, निमित्त उपनिर्देशक सीताराम रिसेल, लेखा अधिकृत चन्द्रप्रसाद खनाल, कानुनी सल्लाहकार लैनबहादुर थापा र पुल्चोक इन्जिनियरिङ क्याम्पसका इलेक्ट्रिकल विभाग प्रमुख युवराज अधिकारीसमेत प्रतिवादी बनाइएको छ।
उनीहरूमाथि कोषको सम्पत्ति हिनामिना गरी आर्थिक हानि पुर्याएको, आपसी मिलेमतोमा ठेक्काको प्रक्रियालाई दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप छ।



कागजपत्र |
