भारतबाट उद्धार गरिएका ७ जना किशोरी महोत्तरी प्रहरी कार्यालयमा


काठमाडौं – महोत्तरीबाट मंगलबारबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो ।

भारतबाट उद्धार गरिएका उनीहरुलाई बुधबार राति नै जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ । घाँस काट्न भनेर घरबाट निस्केका उनीहरु गत मंगलबारबाट हराएका थिए ।

सशस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर उनीहरुलाई नेपाल ल्याएको हो । किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका सई आदित्य सिंह नेतृत्वको टोली पनि नेपाल–भारत सीमाको भिट्टामोड पुगेको थियो । उनीहरुलाई कसले र किन त्यहाँ पुर्‍यायो भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।

मंगलबार दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान, १३ वर्षीया ज्योति पासवान, १२ वर्षीया सीमा पासवान, १३ वर्षीया रिया पासवान र १२ वर्षीया रञ्जना पासवान हराएका थिए ।

 

प्रतिक्रिया