बारामा ८ वर्षीया बालिकाको सामूहिक बलात्कार, ७ जना पक्राउ


बारा — बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको  छ।  प्रसौनी गाउँपालिकामा जेठ १३ गते राति स्थानीय विवाहको कार्यक्रमबीच घरछेउमै आयोजित कथामटकोर(बिहेको अघिल्लो दिन हुने विधि)पछि करिब राति १० बजेतिर पानी लिन गएकी बालिकालाई नातेदारकै व्यक्तिहरूले मकैबारीमा लगेका थिए। प्रहरीका अनुसार तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेपछि बालिका बेहोस भइन्।

घटनापछि बालिकाका अभिभावकले सुरुमा प्रहरीलाई खबर गरेनन्। बरु उनीहरू बालिकालाई उपचारका लागि कलैयास्थित प्रादेशिक अस्पताल लगे, जहाँ प्रारम्भिक परीक्षणमै घटना शंकास्पद देखिएपछि वीरगन्जस्थित नेशनल मेडिकल कलेज लगिएको थियो। त्यहाँ बलात्कारको पुष्टि भएपछि मात्र अस्पताल प्रशासनले प्रहरीलाई खबर गर्‍यो।

बालिकाको अहिले वीरगन्जको नारायणी अस्पतालमा उपचार भइरहेको छ। सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार बालिकाको स्वास्थ्य अवस्था खतरामुक्त भइसकेको छ तर गहिरो चोटको कारण माइनर अप्रेसन गर्नुपरेको थियो।

प्रहरी अनुसन्धान अनुसार सात जना नाबालिग पक्राउ परेका छन् भने पीडित बालिकाकै नातामा पर्ने काका पनि हिरासतमा छन्। बारा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

 

 

प्रतिक्रिया