कमल थापाको पक्राउपछि लिङ्देनको चेतावनी- भोलिबाट विशेष लडाइँ सुरु हुन्छ


काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका वरिष्ठ नेता कमल थापासहितका राजावादी नेता–कार्यकर्ताहरूको तत्काल रिहाइको माग गर्दै सरकारलाई कडा चेतावनी दिएका छन्।

आइतबार नारायणचौरबाट बालुवाटारतर्फ जुलुस लैजान खोज्दा राजावादी प्रदर्शनकारीहरू प्रहरीद्वारा पक्राउ परेका थिए। पक्राउ पर्नेमा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका कमल थापा पनि छन्।

थापाको गिरफ्तारीपछि प्रतिक्रिया दिंदै अध्यक्ष लिङ्देनले ‘खास लडाइँ’ भोलिबाट सुरु हुने बताएका छन्। “अब हामी देशभरिबाट साथीभाइहरूलाई बोलाउँछौँ। खास लडाइँ त भोलिबाट सुरु हुन्छ,” उनले भने।

उनले पक्राउ परेका नेताहरूलाई तत्काल रिहा नगरे व्यापक विरोध आन्दोलन सुरु हुने चेतावनीसमेत दिए। “अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौँ। कहाँ रोक्नुहुन्छ तपाईं?” भन्दै लिङ्देनले सरकारलाई चुनौती दिए।

लिङ्देनले थापालाई तत्काल ससम्मान फिर्ता नगरिए काठमाडौं उपत्यकामा भोलिदेखि बन्दको घोषणा समेत गर्ने चेतावनी दिए। “कमल थापालाई अहिले यहीँ ल्याएर ससम्मान फिर्ता नगर्ने हो भने भोलिदेखि काठमाडौं उपत्यका बन्द सुरु हुन्छ,” उनले भने।

राजसंस्था पुनर्स्थापना र हिन्दू राष्ट्र घोषणाको माग गर्दै राजावादी समूहको आन्दोलन पछिल्ला दिनमा झनै चर्किंदै गएको छ।

प्रतिक्रिया